विश्व ब्रेल दिवसको अवसरमा गुरु जजुर मावि रक्षाचौरका दृष्टिविहीन विद्यार्थीहरुले एक कार्यक्रम सम्पन्न गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. - ३ रानागाउँमा रहेको दृष्टिविहीन छात्रावासमा कार्यक्रमको आयोजना गरिएको हो ।
प्रविण चौधरीको अध्यक्षता तथा नेत्रहिन संघ दाङका पूर्व अध्यक्ष राम बहादुर खड्काको प्रमुख आतिथ्यता एवं पत्रकार आशिष केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले दृष्टिविहीन व्यक्तिहरूको जीवनमा रहेका चुनौतीहरू, उनिहरुका अधिकारहरू र उनीहरूप्रति समानताको भावना जगाउनुपर्ने बताउनुभयो । राज्यले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको लागी उचित भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि केसीले अपाङ्गता भएका व्यक्तिहरुले पनि अवसर पाए सपाङ्ग सरह विभिन्न क्षेत्रमा काम गरेर देखाउनसक्ने बताउँदै उनिहरुलाई विशेष अवसर दिनुपर्ने धारणा राख्नुभयो । आवस्यक सीप र तालिम दिनसके उनिहरुलाई आत्मनिर्भर बनाउन सकिने उहाँको भनाई थियो ।
सो अवसरमा हाजिरी जवाफ प्रतियोगिताको समेत आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध प्रतिभाहरु प्रस्तुत गरेका थिए । उनिहरुले गीत, नृत्य, संगीत, अभिनय लगायतका प्रतिभाहरु प्रस्तुत गरेका हुन् । त्यसैगरी उत्कृष्ट हुनेहरुलाई पुरस्कारको व्यवस्था समेत रहेको थियो । दुर्गा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालण गणेश गन्दर्बले गर्नुभएको थियो ।

हरेक वर्ष जनवरी ४ लाई विश्वभर ब्रेल दिवसको रूपमा मनाइन्छ । आँखा देख्न नसक्नेहरूका लागि यो दिनको विशेष महत्त्व छ । लुइस ब्रेलको जन्मदिनमा विश्व ब्रेल दिवस मनाइन्छ । सन् १८०९ मा फ्रान्समा जन्मिएका लुईस ब्रेल दृष्टिविहीनहरूका लागि ब्रेल लिपिको आविष्कार गरेका व्यक्ति हुन् । यस वर्ष उनको २१६ औं जन्मजयन्ती मनाईएको हो ।