आशिष के.सी
तुलसीपुर, पुष १२ ।
एन प्याव्सन दाङ जिल्ला अन्तर विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता - २०८१ को उपाधी ज्ञानज्योति मावि तुलसीपुरले चुमेको छ । एन प्याव्सन दाङको आयोजनामा बेलझुन्डी रंगशालामा तीन दिन सम्म संचालित प्रतियोगितामा ज्ञान ज्योति मावि तुलसीपुरले ८ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै ज्ञान ज्योती मावि तुलसीपुरले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

त्यस्तै ५ स्वर्ण, ४ रजत र ५ कास्य पदकका साथ मिडवेष्ट पोइन्ट एकेडेमी शान्तिनगर - ७ द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ । त्यस्तै जनप्रीय बोर्डिङ स्कुल बालापुरले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदकका साथ तृतिय भएको छ । त्यसैगरी अमृत बाल एकेडेमीले ३ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गर्दै चौथो स्थान बनाएको छ भने श्रीगाउँ लाईभ भिजन सिम्ठाना २ स्वर्ण र ५ रजत प्राप्त गर्दै पाचौं स्थान बनाउन सफल भएको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले जानकारी दिनुभएको छ ।

यसैबीच छात्रा भलिबल तर्फ मिडवेस्ट पोईन्ट एकेडेमी शान्तिनगरले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै जनप्रीय स्कुल बालापुर द्वितीय, हुन सफल भएको छ भने पुरन्धारा एभरेस्ट स्कुल तृतीय हुँदा मोडर्न दिग्दर्शन बबईले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।
त्यस्तै छात्र भलिबल तर्फ लाईभ भिजन स्कुल दङ्गिशरणले प्रथम स्थान हासिल गरेको छ । जनप्रीय स्कुल बालापुरले द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ भने पुपुल्स ल्याण्ड्स स्कुल बबई तृतीय हुन सफल भएको हो । मिडवेष्ट पोईन्ट एकेडेमी शान्तिनगरले भने सान्त्वनामा स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा एन प्याव्सनमा आवद्ध २७ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई मेडल ट्रफी तथा प्रमाणपत्रले सम्मान एवं पुरस्कृत गरिएको छ । साथै विजेता विद्यालय, खेलाडी तथा उद्घाटन समारोहमा भएको मार्चपास र नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यालय र विद्यार्थीहरूलाई ट्रफि मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेशनल प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा एवं दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार र एन प्याव्सनका केन्द्रिय सदस्य प्रकाश कुमार शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।कार्यक्रमको संचालन एन प्याव्सनका जिल्ला सचिव शालिकराम कार्किले गर्नुभएको थियो ।