नेशनल प्याब्सन दाङको आयोजनामा बृहत खेलकुद कार्यक्रम हुने भएको छ ।
जिल्ला कार्यसमिति दाङको बुधबार तुलसीपुरमा बसेको बैठकले आगामी पुष ९ देखि ११ गतेसम्म अरणिको मैदान र बेलझुण्डी रङ्गशालामा विविध खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सचीव सालिकराम कार्कीले जानकारी दिनुभयो ।
खेलकुद कार्यक्रमको उद्घाटन पुष ९ गते तुलसीपुरको अरनिको मैदानमा हुनेछ । साथै पहिलो चरणका केही खेलहरु अरणिको मैदानमा खेलाईने र बाँकि खेलहरु भने बेलझुण्डी रङ्गशालामा सञ्चालन हुने भएको हो ।
जिल्ला अध्यक्ष भोजराज न्यौपानेका अनुसार ९ गते मार्चपास तथा झाकी जुलुस सहित एक औपचारिक कार्यक्रमकाबिच खेलको उद्घाटन गरिने भएको छ ।
भलिबल छात्र/छात्रा, दौड छात्र/छात्रा तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर हुने भएको छ । त्यसैगरि सटफूट, ज्याभ्लिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प छात्र/छात्रा र रिले दौड ४ सय मिटर, १६ सय मिटर छात्र/छात्रा दुबै तर्फ प्रतिस्पर्धा हुने भएको हो । उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने छ ।
नेशनल प्याब्सन दाङले जिल्लामा खेलकुद र अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आएको छ । यही मङ्सिर १८ र १९ गते घोराहीमा फुटसल खेलको आयोजना गरिएको थियो ।