आशिष के. सी
नेशनल प्याब्सन दाङको आयोजनामा भएको जिल्ला स्तरीय फुटसल प्रतियोगितामा ज्ञानज्योति मावि तुलसीपुर विजयी भएको छ ।
राष्ट्रिय निजि तथा आवासिय विद्यालय (नेशनल प्याब्सन) दाङको आयोजनामा जिल्लाको घोराही - १७ स्थित गैरागाउँमा २ दिन सम्म संचालण भएको प्रतियोगिताको शुक्रबार फाईनल खेल भएको हो ।
फाईनलमा ज्ञानज्योति मावि तुलसीपुर र पिपुल्स ल्याण्ड्स एकेडेमी हापुरे बिच प्रतिस्पर्धा भएको थियो । खेलको पहिलो हाफसम्म कुनैपनि टिमले गोल गर्न सकेनन् । दोस्रो हाफमा भने ज्ञानज्योतिले पिपुल्स ल्याण्ड्सलाई शुन्यका विरुद्ध एक गोल प्रहार गर्दै विजयी भएको हो ।
त्यस्तै राप्ती बाल एकेडेमी तुलसीपुरले शिखा ईङ्लिस स्कुल तुलसीपुरलाई एक गोल प्रहार गरि तेस्रो स्थान हासिल गर्न सफल भएको छ भने शिखा स्कुल सान्त्वना स्थान बनाउन सफल भएको छ ।
जम्मा २२ ओटा टिमले प्रतियोगितामा भाग लिएका थिए । जसमा विभिन्न चरणहरु पार गर्दै ज्ञान ज्योति र पिपुल्स ल्याण्ड्स फाईनलमा पुग्न सफल भएका हुन् । विजय हुने खेलाडी र स्कुललाई एक औपचारिक कार्यक्रमका बीच ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिएको हो ।
नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यता एवं राष्ट्रिय परिक्षा बोर्ड दाङका प्रमुख कमल प्रसाद अर्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाँगीले बालबालिकाहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागी नेशनल प्याब्सनले विभिन्न क्रियाकलापमा सहभागी बनाउँदै आएको बताउनुभयो । साथै उहाँले बालबालिकाहरुलाई किताबी ज्ञान सँगै खेलकुदमा पनि सहभागी बनाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला स्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगितामा आधारभुत तहका छात्रहरुबिच प्रतिस्पर्धा भएको हो । खेलको बिहिबार लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व अर्थमन्त्री धन बहादुर मास्केले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष ठाकुर प्रसाड डाँगीले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचीव शालिकराम कार्कीले गर्नुभएको थियो ।