राष्ट्रिय निजि तथा आवासिय विद्यालय (नेशनल प्याब्सन) दाङको आयोजनामा फुटसल प्रतियोगिता सुरु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. - १७ स्थित गैरागाउँमा आज र भोलि अर्थात मंसिर १९ र २० गते २ दिन सम्म खेल संचालण हुनेछ ।
खेलको आज बुधबार एक औपचारिक कार्यक्रमका बीच लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व अर्थमन्त्री धन बहादुर मास्केले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेल स्वास्थ्यका लागी मात्र नभई राष्ट्रका लागी पनि अपरिहार्य भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मास्केले खेल क्षेत्रमा राम्रो अवसर रहेको बताउँदै बालबालिकाहरुलाई उनीहरुको रुचि अनुसार खेलकुदमा सहभागी बनाउनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले खेल क्षेत्रको समग्र विकासका लागी सरकारले ठोस योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध डाँगी, घोराही उपमहानगरपालिका वडा नं. - १७ का वडा अध्यक्ष रामलोटन चौधरी, केन्द्रिय सदस्यहरु प्रकाश कुमार शर्मा, भिम बहादुर बुढाथोकी लगायतले मन्तव्य राख्नुभएको थियो ।
नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा न्यौपानेले बालबालिकाको चौतर्फी विकासका लागी नेशनल प्याब्सनले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । बालबालिकाहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागी विभिन्न क्रियाकलापमा सहभागी बनाउँदै आएको उहाँको भनाई थियो ।
जिल्ला स्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगितामा आधारभुत तहका छात्रहरुबिच प्रतिस्पर्धा हुने भएको हो । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष ठाकुर प्रसाड डाँगीले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचीव शालिकराम कार्कीले गर्नुभएको थियो ।
यसैबिच पहिलो दिन उद्घाटन खेलमा बाल साहारा ईङ्लिस बोर्डिङ स्कुल तुलसीपुर, पिपुल्स ल्याण्ड स्कुल बबई, पारिजात स्कुल तुलसीपुर, शिखा स्कुल तुलसीपुर, राप्ती बाल एकेडेमी तुलसीपुर, डिभाइन टेम्पल एकेडेमी तुलसीपुर, ज्ञान ज्याेती स्कुल तुलसीपुर, गुरुकुल एकेडेमी तुलसीपुर, हिमालय स्कुल हेमन्तपुर, मिड वेस्ट पोईन्ट एकेडेमी शान्तिनगर क्वाटर फाइनलमा प्रवेश गरेको खेल संयोजक पोषण पोख्रेलले जानकारी दिनुभयो ।