दाङ जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा डिभाईन टेम्पल एकेडेमी तुलसीपुरले प्रथम स्थान हासिल गर्न सफल भएको छ । नेशनल प्याब्सन दाङको आयोजनामा तुलसीपुरमा आयोजना गरिएको प्रतियोगितामा कक्षा १० मा अध्ययनरत छात्र सक्षम शाह प्रथम हुन सफल हुनुभएको हो ।
त्यस्तै प्रतियोगितामा साईनिङ सन बिम स्कुल कक्षा ९ कि छात्रा सन्ध्या पन्त द्वितिय, शिखा ईङ्लिस स्कुल कक्षा ८ कि छात्रा स्मृती चौधरी तृतीय र पारिजात ईङ्लिस स्कुल कक्षा १० कि छात्रा पुजा सुनार सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको हो ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान पत्र सहित पुरस्कृत गरिएको थियो । जसको निर्णायकमा चित्रकला प्रशिक्षक लेखराज गिरी र सन्दीप चौधरी रहनुभएको थियो ।
नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध डाँगीको प्रमुख आतिथ्यता एवं शिक्षा महाशाखा तुलसीपुरका शिक्षा अधिकृत मन प्रसाद खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाँगीले बालबालिकालाई किताबी ज्ञान सँगै उनीहरुको रुचि अनुसार अतिरिक्त क्रीयाकलापमा पनि सहभागी बनाउनुपर्ने बताउनुभयो । साथै उहाँले नेशनले प्याब्सनले जिल्लामा निरन्तर विभिन्न रचनात्मक क्रीयाकलाप गरिरहेको भन्दै प्रशंशा गर्नुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि खड्काले अतिरिक्त क्रियाकलापले बालबालिकाहरुको अन्तरनिहित क्षमता प्रष्फुटन गर्न ठूलो मदत पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य प्रकाश शर्मा, नेसनल प्याब्सन दाङका उपाध्यक्ष ठाकुर डाँगी, कोषाध्यक्ष भुवन ओली, सह–कोषाध्यक्ष दिपक खड्का, जिल्ला प्रवक्ता हरि प्रसाद भण्डारी, तुलसीपुर नगर अध्यक्ष सुमन केसी, जिल्ला सदस्य रोमहर्ष शर्मा, सन्दिप आर्ट्स तुलसीपुरका संचालक सन्दिप चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालण सचीव शालिकराम कार्किले गर्नुभएको थियो ।
यसैबिच नेशनल प्याब्सन दाङको आयोजनामा तुलसीपुरमा एक दिने चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा चित्रकलामा रुचि राख्ने जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराईएको थियो ।
कार्यशालाको मुख्य प्रशिक्षकको रूपमा फाइन आर्ट्स एसोसिएसनका केन्द्रिय सदस्य लेखराज गिरी रहनुभएको थियो भने प्राविधिक सहयोग सन्दीप आर्ट्स तुलसीपुरले गरेको थियो ।