नवरात्रको पहिलो दिन आज पाल्पा दरबार परिसरमा रहेको ऐतिहासिक दसैँघरमा जौको जमरा राखिएको छ । पाल्पा दरबार परिसरमा रहेको यो २ सय १५ वर्ष पुरानो दसैँघर हो । दसैँघरमा नवरात्रभर बालिने अखण्ड दीपसहित घटस्थापना गर्नुका साथै जमरा राखिएको हो । तानसेन दरबार परिसरमा रहेको राणाकालीन दसैँघरमा देवीको पूजा, घटस्थापनाका साथै पूजाआजा गरी जमरा राखिएको हो ।
दसैँघर जिल्ला प्रशासन कार्यालय परिसरमा छ । यसअघि पाल्पा दरबारका प्रशासकले यहाँ नवरात्रमा पूजा गर्ने प्रचलन थियो पाल्पाका अग्लोडाँडामा रहेका कोतघरका साथै देवीका मन्दिरमा घटस्थापना गरी जमरा राख्ने प्रचलन छ । नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्वक राखेर त्यसमाथि जमरा राखिएको छ ।
पाल्पाका अग्ला डाँडाहरूमा २ सय वर्षभन्दा पुराना कोतघर रहेका छन् । जिल्लाको सिलुवा, जब्गादी, वीरकोट, मुझुङको कालिका, बन्दीपोखराको लिपिनदेवी, भैरवस्थान, तानसेनको निशान भगवती, भुसालडाँडा, ताँहु, बतासे, ख्याहा, गल्धा, देवीनगरलगायतका देवीका मन्दिर, कोतघरमा घटस्थापना गरिएको छ ।