दाङ भ्याली यातायात प्रालिको दशैं मिलन तथा ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दाङको घोराहीमा आयोजित कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले तिन पाङ्ग्रे अटो टेम्पोले धेरै नागरिकलाई रोजगारी श्रृजना गरेको भन्दै यसको संरक्षणमा कुनै पनि नितीगत समस्या भए सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । राज्यले दोहोरो करको मार नपर्ने गरी ब्यवसायीलाई सहजिकरण गर्नुपर्ने उहाँको भनाई थियो ।
यस्तै दाङ भ्याली यातायात प्रालिका अध्यक्ष बेत प्रकाश वलीले अटो व्यवसायीहरुका धेरै समस्याहरु भएको बताउँदै दोहोरो कर अन्त्य हुनुपर्ने, अन्तरपालिका बाटो ईजाजत दिनुपर्ने, अस्थाई बाटो ईजाजत पटकेको ब्यवस्था गरिनुपर्ने लगाएतका समस्या रहेको हुँदा समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा घोराही उप-महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरमा अटो टेम्पोको संख्या धेरै हुँदा समस्या भएको बताउनुभयो । उहाँले अटो टेम्पो सञ्चालन स्थानिय सरकारको एकल अधिकार भित्र पर्ने भएकाले कानुन बनाएर ब्यवस्थापनमा लाग्ने बताउनुभयो । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, उद्योग वाणिज्य संघ दाङका बरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रबन्धक लोकराज पराजुली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
उक्त अवसरमा भर्खरै जिल्लामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी लम्साल र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनालाई स्वागत तथा सम्मान गरिएको थियो । साथै कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले अटो टेम्पोका चालकहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा स्थापनाकाल देखि संस्थामा आबद्ध रहेका उत्कृष्ट ६ जना चालकहरु र स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्ने १४ जनालाई सम्मानित गरिएको थियो ।
दाङ भ्याली यातायात प्रालि घोराही शाखा संयोजक बलजित दमाईको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रालिका कार्यालय प्रमुख महेन्द्र महराले गर्नुभएको थियो ।